
रौतहट, २१ असार । रौतहटको गौरमा ट्यूसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गौर-४ टिकुलियाका सुरज यादवको घाँटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागी वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेकाअनुसार घटनामा घाइते तीन जनाको उपचार भइरहेको छ । गौर नगरपालिका नजिकै सञ्चालनमा रहेको ट्यूसन तथा कोचिङ्ग सेन्टरका विद्यार्थीहरुबीच झडप भएको खबर पाउने बित्तिकै प्रहरी टोली पुगेको उहाँले जानकारी दिनुभयो ।
प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न इशनाथ नगरपालिका-९ का २० वर्षीय संजिव गुप्ता, २१ वर्षीय प्रदिप साह र परोहा नगरपालिका-९ का १८ वर्षीय शिवम कुमार सहनीलाई पक्राउ गरेको छ ।
चार जनालाई पक्राउ गरेपनि एकजनाको संलग्नता नदेखिएपछि तीनजना उपर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गौर नगरपालिका भित्र अनुमतिसमेत नलिएका ट्यूसन तथा कोचिङ्ग सेन्टर सञ्चालनमा रहेको यहाँका अगुवाहरुको भनाइ छ ।
गौर नगरपालिकाको शिक्षा शाखा तथा शिक्षा विकास तथा समन्वय इकाइलेसमेत कुनै चासो नलिएको अभिभावकहरुले गुनासो गरेका छन् ।
व्यापारिक प्रयोजनका लागी बनाइएका सटरमा एक पटकमा ४० भन्दा पनि विद्यार्थीलाई राखेर ट्यूसन र कोचिङ्ग पढाउने गरिन्छ । एउटै कोठामा क्षमता भन्दा बढी विद्यार्थी राखेर पठनपाठन हुँदासमेत नियमक निकाय मौन बसेको आरोप लागेको छ । तर गौर नगरपालिकाले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।







प्रतिक्रिया