
काठमाडौं, २१ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरी काम गरिरहेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम्म सुरक्षित रोजगारीका लागि अभिमुखिकरण तालिमको प्रबन्ध गरिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने कामदारको संख्या दिनदिनै बढिरहेको छ । यसलाई कम गर्नका लागि सरकारले काम गरिरहेको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन अभिमुखिकरण तालिमकोसमेत प्रबन्ध गरेका छौँ ।’
उहाँले सातै प्रदेशमा रोजगारी पाउने व्यवस्थासहित श्रमाधान मेलासमेत समापन गरिएको भन्दै श्रमाधान मेलाले रोजगारदाता र वेरोजगार युवाहरुलाई जोड्ने पुलको काम गरेको बताउनुभयो ।
मन्त्री अर्यालले सिप विकास, रोजगार सेवालगायत सबै प्रकारका श्रम तथा रोजगार सेवाहरू स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट प्रवाह भइरहेको दाबी पनि गर्नुभएको छ ।









प्रतिक्रिया