
रौतहट, २० असार । रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ ।
जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासँगै वर्षाको पानी विद्यालयको प्राङ्गणमासमेत जमेपछि अध्ययनरत बालबालिका लाई कठिनाई भएको छ ।
दुर्गा भगवती-१ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमासमेत पानी जमेर विद्यार्थीहरु समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ दुई फिटसम्म पानी जमेपछि विस्तारै कक्षा कोठामासमेत छिरेपछि पठनपाठन प्रभाावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताउनुभएको छ ।
विद्यालय तथा विद्यालय प्राङ्गण भन्दा चौतर्फी जमिन अग्लो रहेकाले सामान्य वर्षा हुँदा पनि विद्यालयमा पानी जम्दै आएको प्रधानाध्यापक चौधरीको भनाइ छ । कक्षा १ देखि ५ सम्म अध्यापन हुने यस विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेका छन् ।
वर्षातको मौषममा विद्यालयको चौतर्फी पानी जमेर विषालु सर्पको जोखिम भएको कारण केही दिनका लागि बिदा दिएर विद्यालय बन्द गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिनुभएको छ । वर्षौंदेखिको विद्यालयको समस्या समाधान गर्न दुर्गा भगवती गाउँपालिकासँगै शिक्षा शाखालाई जानकारी गराउँदा पनि समस्या ज्युँ का त्यूँ रहेको प्रधानाध्यापक चैधरीले गुनासो गर्नुभयो ।
स्थानीय निकायले शिक्षा जस्तो संवेदनशील विषयमा गम्भीर नहुँदा सयौं बालबालिकाको भविष्य अन्यौलमा परेको अभिभावकहरुले गुनासो गरेका छन् ।








प्रतिक्रिया