२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकले चन्द्रागिरिका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

नगरपालिकाको यस कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगरप्रमुख घनश्याम गिरीले हस्ताक्षर गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ । नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नेहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुनेछन् र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले यस अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकमसमेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुनुहुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको छ ।