
काठमाडौं, १९ असार । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्रराष्ट्र मलेसियाको प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट गर्नुभएको छ ।
मलेसियन संसद् भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीतिमार्फत नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउनु पर्ने धारणा राख्नुभएको थियो ।
सांसद ढकालले नेपालको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरिको तर्फबाट मलेसियन सभामुखलाई शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागिसमेत आग्रह गर्नुभयो ।
मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्वमा राखेको बताउँदै अनुकूल समयमा नेपालको भ्रमण गर्ने बताउनुभयो ।
सांसद ढकालले मलेसियामा ठूलो संख्यामा रहेका नेपालीहरुको हितको आवश्यक पहल र सदभावका लागि सभामुख जोहरीसँग आग्रह पनि गर्नुभयो ।
भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको लागि अन्तर-संसदीय पहलकदमी अघि बढाउने र नेपाल-मलेसियाका जनप्रतिनिधिबीच निरन्तर संवाद विस्तार गर्ने विषयमा पनि छलफल भएको ढकालले जानकारी दिनुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभएका ढकाल मलेसियाको तीनदिने मैत्रीपूर्ण भ्रमणमा हुनुहुन्छ । ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुनुहुन्छ ।









प्रतिक्रिया