
काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ ।
महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ । दस्तावेजबारे प्रतिनिधिहरुलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।
समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुने एकीकृत समाजवादीले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् ।
विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ । आइतबार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।








प्रतिक्रिया