२५ असार २०८३, बिहिबार

सामाजिक काममा सबैको सहकार्य आवश्यक : मन्त्री चौधरी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सामाजिक काममा कुनै व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने हुँदा सबैको हातेमालो जरुरी रहेको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सेवाभावलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राज्यको दरिलो खम्बा बनेर विपद् तथा प्रकोपमा परेकाहरुको आशा र भरोसाका रुपमा रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको साथ र सहयोगमा अग्रणी भूमिका निर्वाह गर्नुहुने जीवनसङ्गिनीहरुको त्याग र समर्पण महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री चौधरीले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, विपद्पीडितहरुको सहयोगलगायत विविध जनचेतनामूलक कार्यक्रममा देखाएको अग्रसरताको प्रशंसा पनि गर्नुभयो ।

कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवका अवसरमा आयोजित दोस्रो खुला महिला हाफ म्याराथनका विजयी खेलाडीलगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष सावित्राकुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्रालाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।