१३ असार २०८३, शनिबार

भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गर्नुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२औँ स्थापना दिवस तथा ३०औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आज उहाँले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।

मन्त्रि अर्यालले यसकार्यमा म्यानपावर व्यवसायीको संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेकाले सचेत रहन ध्यानाकर्षण गराउनुभयो ।

‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा सङ्लग्न छन्, त्यसैले एकपटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम कारबाही गर्न नपरोस् ।’ उहाँले भन्नुभयो ।

भ्रमण भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेक्राई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गर्नुभयो ।

उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिक रुपमा रु दुई खर्ब एक अर्ब ६० करोड गैरबैंकिङ च्यानलबाट सङ्कलन भइरहेको तथ्याङ्क प्राप्त भइरहेकाले यो रकम औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रुपमा गहिरो अध्ययन गरिरहेको बताउनुभयो ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी शुल्क वैज्ञानिक बनाइनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्नेलगायत माग राख्नुभयो ।