२४ कार्तिक २०८३, मंगलबार

वन्दना राणालाई मन्त्रालयमा सम्मान, अन्तर्राष्ट्रिय स्तरमा भूमिका खेल्न आग्रह

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गर्नुभएको छ ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा निर्वाचित नेपालकी वन्दना राणालाई सोमबार मन्त्रालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।

‘महिला अधिकारका पक्षमा नेपालमा धेरै राम्रा प्रयासहरू भएका छन् । तर अझै पनि हामीले थुप्रै कामहरू गर्न बाँकी छ । त्यसका निम्ति हामी सबैको एकीकृत प्रयत्न हुन जरुरी छ ।’ मन्त्री चौधरीले भन्नुभयो, ‘तपाइँले अन्तर्राष्ट्रिय रूपमा नेपालको तर्फबाट राम्रो काम गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय रूपमा भएका राम्रा प्रयासहरूले नेपालमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न अनुरोध गर्दछु ।’

मन्त्री चौधरीले अझै पनि महिलालाई हेप्ने, कमजोर ठान्ने मानसिकता रहेको भन्दै ती सबै गलत कार्यको अन्त्यका निम्ति अझै काम गर्न आवश्यक रहेको बताउनुभयो । पोलिसि मेकरबाटै अहिले पनि समस्या रहेको उहाँको भनाइ थियो ।

उहाँले महिला अधिकार तथा संरक्षणका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी ल्याउनका निम्ति भूमिका खेल्न सकेन आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने दोस्रो तहका महिला नेतृत्व उत्पादन गर्नतिर लाग्नसमेत राणालाई आग्रह गर्नुभयो ।

त्यसअवसरमा बोल्दै सिड कमिटीको सदस्य वन्दना राणाले लैङ्गिक समानताको सबैभन्दा ठूलो अड्चन विद्यमान गलत मानसिकता रहेको बताउनुभयो । अझै पनि महिलालाई विभिन्न उपमा दिएर कमजोर बनाउने प्रवृत्ति रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो । नेपालको तर्फबाट आफू सिड कमिटी सदस्यमा तेस्रो कार्यकालका निम्ति निर्वाचित भएको भन्दै उहाँले यसपटक आफूले अध्यक्षका निम्ति तयारी गरेकोसमेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव दिनेश भट्टराईले मन्त्रालयअन्तर्गतका विभाग र महिला विकास कार्यालयहरू खारेज हुँदा मन्त्रालयका कार्यक्रम सम्पादन गर्न प्रदेश तथा स्थानीय तहमा निर्भर हुनुपर्दा थुप्रै कठिनाइ झेल्दै आइरहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले गर्नुभएको थियो ।

सिड कमिटीमा निर्वाचित राणा यसअघि दुई कार्यकाल सदस्य निर्वाचित भइसक्नुभएको छ । अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै तेस्रोपटक विजयी हुनुभएको हो । उहाँले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नुहुनेछ ।