
काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । करिब चार घण्टा लामो वार्तापछि ओली केहीबेरअघि बालुवाटारबाट बाहिरिनु भएको हो । दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीकी स्वकीय गंगा दाहालले बताउनुभएको छ ।
शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गर्नु भएको थियो ।
कांग्रेसको प्रस्तावमा ओली सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार देखिएको छ ।
कांग्रेसको यो प्रस्तावपछि आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।
कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राख्नुभएको छ ।ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ ।













प्रतिक्रिया