
काठमाडौं, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
‘‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’’ भन्ने नाराका साथ शनिबार मनाउन लागिएको २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा उहाँले शुभकामना दिँदै जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा नकारात्मक असर परिरहेको बताउनुभयो । खाद्यबालीमा परेको यस्तो नकारात्मक असरको न्यूनीकरण गर्न सरकारले प्राथमिकता दिएको भनाई प्रधानमन्त्री दाहालको छ ।
दाहालले भन्नुभएको छ, ‘जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा परेको नकारात्मक असरको न्यूनीकरण गरी धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको छ ।’ सरकारले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत् धान बालीको उत्पादन बढाउने रणनीति लिएकोसमेत जारी विज्ञप्तिमा उल्लेख छ ।
जनताको जीवनशैली र जनजीविकासँग जोडिएको धान बालीको आर्थिक, सामाजिक र साँस्कृतिक महत्त्व रहेको बताउनुभएका दाहालले आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बढ्दै गइरहेको र त्यसलाई कम गर्न विशेष कार्यक्रमहरु गरिरहेको बताउनुभएको छ । ‘यस परनिर्भरतालाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, सिंचाइ सुविधा र प्रविधिको विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरूमा प्राथमिकता दिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
उल्लेखित सरकारका कार्यक्रमको कार्यान्वयनबाट धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि एवं धान–चामलको आयात प्रतिस्थापनमा सहयोग पुग्ने विश्वास प्रधानमन्त्री दाहालको छ ।








प्रतिक्रिया