
काठमाडौं, १२ असार । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुर्व्यसनीको समस्या राष्ट्रिय बेथिति भएकाले सबै राजनीतिक दलले मिलेर दुर्व्यसनीको विषयलाई राजनीतिक मुद्दा बनाएर कार्य गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार बिहान काठमाडौंमा लागुऔषध दूरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस पारेर गृहमन्त्रालयले आयोजना गरेको मूल समारोह कार्यक्रमा मन्त्री श्रेष्ठले लागुऔषध दुर्व्यसनीको समस्या देशैभर फैलिएको उल्लेख गर्दै यसलाई सबै राजनितक दलले आफ्नो जिम्मेवारी सम्झिएर मुद्दा बनाउनुपर्ने बताउनुभो ।
‘मैले मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेशमा जाँदा खेरी बोर्डर एरियामा मात्र लागुऔषधको समस्या भन्ठानेको थिएँ । जुम्लामासमेत लागुऔषधको यस्तो विकराल समस्या भैसकेको रहेछ । यो राष्ट्रिय रोग हो । यस्ता बेथिति हाम्रा मुद्दाहरु हुन सबै एक भएर लड्नुपर्छ ।’
यस्तै, उहाँले यो मुद्दामा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले प्रतिपक्षी दललाईसमेत दुर्व्यसनीको विषयलाई राजनीतिक मुद्दा बनाउन आग्रह गर्नुभयो । ‘म प्रमुख प्रतिपक्षलाई के अनुरोध गर्छु भने यस्तो विषय चाँही साँच्चिकै हाम्रो राजनितक विषय बनोस् भन्न चाहान्छु ।’ उहाँले भन्नुभयो ।
लागुपदार्थको दुर्व्यसनीबाट युवालाई मुक्त गराउन सामाजिक चेतनाको कुरा पेचिलो बनेको उल्लेख गर्दै श्रेष्ठले तीन चरणमा दुर्व्यसनीविरुद्ध काम गर्नुपर्नेमा जोड दिनुभएको छ । लागुऔषध दुर्व्यसनी पूर्वको चरण, दुर्व्यसनीको चरण र दुर्व्यसनीमा फसिसकेपछिको चरण गरी तीन चरणमा कार्य गरी समाजबाट दुर्व्यसनी निर्मुल पार्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले कुनै पनि देशलाई कमजोर बनाउनु पर्छ भने त्यो देशको युवा शक्तिलाई लागुऔषधको दुर्व्यसनीमा लगाइदिनुपर्छ भन्ने उक्तिको स्मरण गराउँदै युवा तथा बालबालिकालाई दुर्व्यसनी वा कुलतमा फस्नबाट जोगिन आग्रह गर्नुभयो । एउटा व्यक्ति दुर्व्यसनीमा फस्दा उसले आफूसँगै परिवार समाज हुँदै राष्ट्रलाईसमेत ठूलो क्षति गर्ने बताउनुभएका उहाँले दुर्व्यसनीलाई निर्मुल गर्न जनचेतना अति महत्वपूर्ण भएको बताउनुभयो ।
‘दुर्व्यसन भन्ने कुरालाई हामीले लागुऔषधमा मात्र सिमित राखेर हुँदैन । दुर्व्यसन भनेको चरित्र पनि हो । कोही जाँड रक्सिको दुर्व्यसनीमा परेको हुन्छ कोही पैसा र पावरको दुर्व्यसनीमा परेका हुन्छन् । लागुऔषधले विकराल रुप लिएकाले गर्दा यो सामाजिक समस्या भयो तर, तपाईं आफ्नै वा छरछिमेकमा जाँजरक्सीको दुर्व्यसनीमा परेकाको परिवाले पाएको दुःख सम्झिनुस् । यसलाई निर्मुल गर्न जनचेतना एकदमै महत्वपूर्ण छ ।’ मन्त्री श्रेष्ठले भन्नुभयो ।
‘लागु औषध दुरुपयोग विरुद्ध लडौँ : रोकथाममा जोड दिऔंँ’ भन्ने मूल नारासहित आज विषेश कार्यक्रमको आयोजना गरी मनाइएको दिवस साताव्यापी सञ्चालन हुँदैछ ।









प्रतिक्रिया