
काठमाडौं, १२ असार । लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । पहिरो गएको ९ घण्टा हुनलाग्दासमेत खोजी र उद्दारका लागि अझै घटनास्थलमा प्रहरी पुगेको छैन् ।
क्व्होलासोथार गाउँपालिका-३ को बगुममा भारी वर्षापछि बुधबार बिहान करिब १ बजेतिर गएको पहिरोले तीन वटा घर बगाएको हो । सोही पहिरोमा परी रुद्रमान गुरुङको परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले जानकारी दिनुभयो ।
बेपत्ता हुनेमा ६९ वर्षीय रुद्रमान गुरुङ, उहाँको बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, र नाातिनीद्वय ७ वर्षीया इच्छा गुरुङ र ५ वर्षीया नम्रता गुरुङ रहेको घलेले जानकारी दिनुभयो ।
उहाँ भन्नुभयो, ‘पहिरोमा चार जना बेपत्ता हुनुभएको छ । स्थानीयले खोजीकार्य गरिरहेका छन् । प्रहरीहरु उद्दारका लागि बिहानै हिँडिसक्नुभएको छ, बाटोमा आउँदै हुनुहुन्छ, यहाँ आइपुग्नु भएको छैन् ।’ उहाँले थप्नुभयो, ‘गएरातिको पानीले ठाउँठाउँमा सडक बगाएको रहेछ, गाडी आउजाउ गर्न नसक्ने भएर ढिला भएको जानकारी दिनुभएको छ ।’
पहिरो करिब तीन सय मिटर लामो पहिरोमा स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर बगाएको हो । घलेका अनुसार घटनास्थलको करिब ३२ किलोमिटरको दूरीमा प्रहरी कार्यालय पर्छ ।








प्रतिक्रिया