
कास्की, १२ असार । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।
कास्कीको मादी गाउँपालिका-५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहनुभएको थियो । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।
यसैगरी, गएराति नै पोखरा महानगरपालिका-२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उहाँका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ ।
घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।
उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा हरि र उहाँका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।
पोखरामा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।








प्रतिक्रिया