५ असार २०८३, शुक्रबार

रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १० असार । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोबारी एक जना भारतीय नागरिकलाई एक थान पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया-३ असोगी टोल बस्ने वर्ष २१ को राहुल राम रहेका छन् । उनको साथबाट एक थान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताउनुभएको छ ।

गौर नगरपालिका-२ महादेव पटी टोलछेउ नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा ३४४/५ सीमा स्तम्भ नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटेको ड्युटी टोलीले आइतबार राति साढे १२ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको आरोपी रामले चलाएको हिरो एचएफ डिलक्स मोटरसाइकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका रामसँगै मोटरसाइकलमा सवार अर्का एक जना भारतीय भने भारततर्फ भाग्न सफल भएका थिए ।

एसपी हुमागाईंका अनुसार मध्यरातमा बिना गोलीको हतियार मात्र नेपाल ल्याउनुको अर्थ कसैले अर्डर गरेर मगाएको हुनसक्छ अर्थात पक्राउ परेका भारतीय नागरिक राहुल राम हतियार कारोबारी हुन सक्छन् । उनको साथबाट बरामद पेस्तोल, एक थान मोबाइल र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरीका एसपी हुमागाईंको सक्रियताले भारतीय सीमा क्षेत्रमा विगतमा हुने गरेको अबैध कारोबार, आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयहरूले बताएका छन् ।