९ असार २०८३, मंगलबार

उमाकुण्ड गाउँपालिकाको बजेट ५३ करोड : कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १० असार । रामेछापको उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले आइतबार आगामी आवको लागि ५३ करोड ३१ लाख २५ हजार ८ सय ९९ रुपैयाँको बजेट तथा नीति कार्यक्रम ल्याउनुभएको हो ।

गाउँपालिकाले संघीय सरकारबाट ३१ करोड ५६ लाख ६३ हजार, प्रदेश सरकारबाट ५ करोड ६३ लाख ४० हजार रुपैयाँ प्राप्त हुने, गत वर्षको नगद मौज्दात १ करोड ५० लाख रुपैयाँ रहेको उल्लेख गर्दै सोही अनुसारको बजेट उमाकुण्डले ल्याएको हो ।

पालिकाले राजश्वबाट १४ करोड ९२ लाख २२ हजार ८ सय ९९ रुपैयाँ र ६८ लाख रुपैयाँ बढी आन्तरिक श्रोतबाट जुटाउने अनुमानसहित ५३ करोडको बजेट ल्याएको हो ।

गाउँ सभामा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण, यान्त्रिकीकरण एवम् व्यवसायीकरण गर्दै खाद्यान्न तरकारी तथा फलफूलको उत्पादकत्व वृद्धि र व्यवस्थित बजारीकरण गरी गाउँवासीको आर्थिक अवस्थामा सुधार गर्दै लगिने नीति गाउँपालिकाले लिएको बताउनुभयो ।

रैथाने बालीहरूको बीउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाइने, गाउँपालिका भ्रमण गर्ने पर्यटकलाई स्थानीय परिकारको ब्राण्डको रूपमा त्यस्ता खाना उपलब्ध गराउने कार्यलाई प्रोत्साहित गरिने नीति गाउँपालिकाको छ ।

कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न एक वडा एक कृषि उत्पादनको अवधारणाअन्तर्गत तरकारी तथा फलफूल खेतीको पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, पूर्वाधार तथा यान्त्रिकीकरण कार्यक्रममा अनुदानको व्यवस्था गर्ने कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाउने पनि नीति कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाभित्र दूध कृषकहरूले उत्पादन गरेको दूधको बजारीकरणको लागि दुग्ध डेरी र सङ्कलन केन्द्रहरू स्थापना गर्ने र स्थापना भएको डेरी तथा सङ्कलन केन्द्रहरूको व्यवस्थापनको लागि आवश्यक व्यवस्था मिलाइने समेत नीति कार्यक्रममा समावेश छ ।

गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने, पर्यटकीय क्षेत्र ताँमेलगायत अन्य स्थानमा निर्माणाधीन पर्यटकीय संरचना समेत समय सीमा भित्रै सम्पन्न गरिने प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको छ । नुम्वुर चिज सर्किटलाई थप फराकिलो र व्यवस्थित गरी प्रचार प्रसारमा जोड दिइने भएको छ ।

यस्तै, गाउँपालिका भित्र जातीय पहिचानको प्रवर्धन गर्ने नीति समेत पालिकाले लिएको छ ।

यसैगरी, शैक्षिक क्षेत्रमा शिक्षकको पेसागत विकास र बालबालिकाको सिकाइ सुधार गर्न ‘शिक्षक टु शिक्षक’ कार्यक्रम सञ्चालन गरिने, कक्षा ६ देखि १२ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई अभिभावकसँगको साझेदारीमा दिवा खाजा खुवाउने कार्यक्रमलाई निरन्तरता नीति कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यतर्फ भने गाउँपालिकाको केन्द्रमा डाक्टरसहितको सुविधा सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा ल्याइने, सबै स्वास्थ्य संस्थाहरूमा अक्सिजन सहितको २ शैयाको व्यवस्था र ल्याबसहित दक्ष जनशक्तिको व्यवस्था गरिनेसमेत उल्लेख छ ।

गाउँपालिकाले एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ । हरेक वडामा एउटा बाल उद्यान निर्माण अभियान सञ्चालन गरिने, गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्नका लागि आवश्यक कार्य अगाडी बढाइने लगायतको कुरा नीति कार्यक्रममा अटाएको छ ।