२ असार २०८३, मंगलबार

रामेछाप नगरपालिकाले ल्यायो ७३ करोडको बजेट, सडकलाई प्राथमिकता

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १० असार । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ७३ करोडको बजेट सार्वजनिक गरेको छ ।

आइतबार नगरपालिकाका उपप्रमुख बाला कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याउनुभएको हो ।

नगरपालिकाले चालु तर्फ ५४ करोड ७ लाख १५ हजार ५ सय रुपैयाँ विनियोजन गरेको छ । पुँजीगततर्फ भने १८ करोड ९८ लाख ७२ हजार ९ सय ८३ रुपैयाँ विनियोजन गरिएको छ । बजेट तथा नीति कार्यक्रममा नगरले सडक निर्माणलाई जोड दिएर २ करोड माथिका ४ योजना सडक स्तरोन्तीका लागि बजेट विनियोजन गरेको छ । जसमा देउराली–गोठगाउँ–साँघुटार सडकको लागि ३ करोड, साउने–बोलङबोलङ–बरबोटे सडक स्तरोन्नति लागि ३ करोड, मानेडाँडा–सिमन्ती–हर्दिनी–मरिणघाट सडकको लागि ३ करोड, कालीकुवा–चामबोट–च्यास्कु सडकको लागि २ करोड ५० लाख र फलाँटेखोला–देउराली–हुलकाचौर लिफ्ट खानेपानी आयोजनाको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरप्रमुख लवश्री न्यौपानेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि वडा नं १ को चण्डेश्वरी माध्यमिक विद्यालयलाई प्रशासकीय केन्द्र मानी मेघा विद्यालय सञ्चालन गरिने उल्लेख छ । विद्यालयमा साथीबाट सिक्ने साथीलाई सिकाउने प्रणाली अपनाइने नीति तथा कार्यक्रममा राखिएको छ ।

यसैगरी, साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालमा रूपान्तरण गर्ने, गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम , स्थानीय रैथाने बाली संरक्षण लगायतका कार्यक्रम पनि राखिएका छन् ।

नगरपालिकाले ‘दही मोही खाऔँ, कोल्डड्रिङ्स भगाऔँ’ जस्ता आकर्षक नारा राखेर कार्यक्रम ल्याएको छ । वातावरण संरक्षणको लागि सामुदायिक वन, फलाउने छ धन, शुल्कमा आधारित फोहोर व्यवस्थापन प्रणाली, प्लास्टिक शून्य रामेछाप नगर अभियान, एक टोल, एक पोखरी जस्ता कार्यक्रम पनि नगरपालिकाको नीति कार्यक्रममा अटाएका छन् ।

पर्यटन प्रवद्र्धनका लागि वडा नं ६ को लामसाङ डाँडामा बुद्धको मूर्ति स्थापना र बुद्ध पार्क निर्माण, गंगाला र पुष्पलाल श्रेष्ठको जन्मस्थल भँगेरी, तारा खसे पोखरी, भालुखोप भ्यूटावर, बिटार पार्क, केवलेश्वर महादेव मन्दिर, बाल कन्या मन्दिर, महाकाली मन्दिर, मुडाजोर लगायतका स्थानीय मठ मन्दिर, धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास तथा संरक्षणको कार्यक्रमसमेत नगरपालिकाले समावेश गरेको छ ।