
भक्तपुर, १० असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उपचारको अभावमा रोगसँग डराउने दिन आएको बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी महिला संघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको आइतबार आयोजित दोस्रो स्मृतिसभामा उहाँले स्वदेशमै उपचार गर्छुभन्दा पनि उपचारको सुविधा नपाउने अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभयो ।
‘विसं २०५६ मा शोभाको स्तन क्यान्सरको पहिचान हुँदा टिचिङ अस्पतालका डाक्टरले नेपालमै उपचार सम्भव छ भनेपछि आधा रोग निको भए जस्तै भएको थियो ।’ उहाँले भन्नुभयो ।
उहाँले हरेक घरमा एक जना स्वास्थ्यकर्मी हुनुपर्ने अवस्था आएको बताउनुभयो । ‘सरकार या राज्यसँग नडराउने हामी रोगसँग डराउनुपर्ने स्थिति आएको छ । क्यानसरको उपचारमा नेपालमा औषधि ल्याउन गर्नुपरेको दौडधुप, उपचारको अवस्था देख्दा दुःखी बनाएको छ ।’
कार्यक्रममा वरिष्ठ चिकित्सक प्रकाश सायमीले महिलामा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर चुनौती बनेको बताउनुभयो । डा. सायमीले पत्रु खानाको निरन्तर सेवन, महिलाले ३० वर्षपछि बच्चा जन्माउने, मोटोपन समयमै पहिचान नहुनु, उपचारमा हिच्किचाउनुले पनि क्यान्सर रोग लाग्ने गरेको बताउनुभयो ।
डा. सरोज धिताल, क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ, नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रीय अध्यक्ष अनुराधा थापामगरलगायतले स्व शोभाको जीवनीमाथि चर्चा गर्नुभयो ।








प्रतिक्रिया