२० जेष्ठ २०८३, बुधबार

कहिले सकिन्छ नागढुंगा सुरुङमार्ग निर्माण ? आयोगले गर्‍यो अनुगमन

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । राष्ट्रिय योजना आयोगले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ ।

आइतबार आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आयोजना स्थल पुगेर अनुगमन गरिएको हो । टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको छ ।

अनुगमन टोलीका संयोजक तथा आयोग सदस्य डा. फुँयाललाई बिफ्रिङ गर्दै आयोजना निर्देशक रमेश कोइरालाले भौतिक प्रगति ७६ प्रतिशत भन्दा बढी र वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताउनुभयो ।

आयोजनाका लागि पछिल्लो समय १८ महिना थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । यस अवधिमा आयोजना सम्पन्न हुने उहाँले बताउनुभयो । यद्यपि, अनुगमनका क्रममा केही समस्याहरु भने देखिएका छन् ।

आयोगका सदस्य डा. फुँयालका अनुसार केही कित्ताहरुको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने केही चुनौतीहरु रहेका छन् । ‘एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या भएको रहेछ ।’ अनुगमन टोलीका संयोजक डा. फुँयालले भन्नुभयो, ‘अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।’ देखिएका समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा आयोजनाले सोच्नुपर्ने उहाँले बताउनुभयो । समस्याहरु समाधान गर्न सकिए सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको उहाँको निष्कर्स छ ।

अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरुकोसमेत सहभागीता रहेको थियो ।