२२ असार २०८३, सोमबार

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ असार । गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राइड सेयरिङ’ सञ्चालनमा रोक लगाइएको छ । पोखरामा पछिल्लो समय इनड्राइभलगायतले एपमार्फत सञ्चालन गर्दै आएको ‘राइड सेयरिङ’ सञ्चालनमा रोक लगाइएको हो ।

यातायात व्यवस्था कार्यालय कास्कीले एक सूचना निकालेर ‘राइड सेयरिङ’सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ ।

गण्डकीमा ‘राइड सेयरिङ’ सम्बन्धी कानुन बनी नसकेकाले सञ्चालनमा रोक लगाइएको यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले जनाएको छ ।

गण्डकीमा ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली बनिसकेको छ । तर कार्यविधिसँगै मापदण्ड बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनले यात्रु बिमासँगै भाडा दर निर्धारणलगायतका मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ ।

कार्यविधिसँगै मापदण्ड नबन्दा त्यस्ता एपमार्फत सञ्चालन हुने इनड्राइभ, पठाओ, सहारालगायतले आफैले एप बनाउने अनि भाडा दर पनि आफै तोकेर यात्रु ओसार पसार गर्दै आएका छन् । यसरी जथाभाबी रुपमा ‘राइड सेयरिङ’ सञ्चालन भएको पाइएपछि कार्यालयले सूचना निकालेर त्यस्ता कार्यप्रति रोक लगाएको हो ।

कार्यालयले सूचनाको बेवास्ता गरेर राईड सेयरिङ सञ्चालन गर्दै निजी सवारी साधनमा यात्रु ओसारपसार गरे कारबाही गरिने चेतावनी दिएको छ ।