
वीरगञ्ज, ८ असार । पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुई वटा दारासहित तीन जनालाई पक्राउ गरेको छ । स्थानीय ठोरी गाउँपालिका-४ गोरखपुर टोलमा प्रहरीले विशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुई वटा हात्तीको दारा बरामद गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता डिएस्पी दीपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताउनुभयो । स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमिन मुनि राखिएको अवस्थामा हात्तीको दारा बरामद भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिनुभयो ।
हात्तीको दारा ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगञ्ज महानगरपालिका-१४ का प्रेम शर्मा र वडा-३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपाली ५० रुपैयाँको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडिओ र फोटोसमेत बरामद गरेको छ ।
डिभिजन वन कार्यालय पर्साको सहकार्यमा अनुसान्धान भइरहेको प्रवक्ता भारतीले बताउनुभएको छ ।









प्रतिक्रिया