९ असार २०८३, मंगलबार

संविधानको संरक्षण कांग्रेसले मात्र गर्छ : गगन थापा

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गर्नुभएको छ । देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको उहाँको दाबी थियो ।

शनिबार नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको ठूलो पार्टी भएकै कारण नेपाली कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको दिनमा कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो । देशको बारेमा चिन्तन गर्ने कांग्रेस बाहेक अरु कुनै पार्टी छैनन् । देशको एक राष्ट्रवादी पार्टी भएको कारण कांग्रेसको जिम्मेवारी पनि अरुभन्दा बढी छ । संविधानलाई जोगाउनुपर्ने बाध्यता छ । संविधानको अभ्यास गर्दा केही कमजोरीहरु देखिएका छन् । यसलाई संशोधन गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छन् ।’

प्रदेश सरकारलाई राजनीतिक दलहरुले हलुका रुपमा लिएकै कारण प्रदेशहरुमा अस्थिरता भएको बताउनुभयो । संविधानको अभ्यास गर्दैजाँदा देशको निर्वाचन प्रणाली पनि कमजोर भइसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशमा अहिले यति धेरै सरकार परिवर्तन भएका छन् । हामीले प्रदेशलाई हल्का रुपमा लियौँ । यसका कमजोरी हाम्रो निर्वाचन प्रणालीसँग पनि जोडिएको छ । संघले प्रदेशको अधिकार खोसिदिएको छ । यि अभ्यासका क्रममा सिकेका कुराहरु हुन । हामीले सुधार्नुपर्छ ।’

नेपाली कांग्रेस अहिले पनि वीपी कोइरालाले देखाएको बाटोमा हिँडिरहेको उल्लेख गर्दै कांग्रेस एक दुई जनाको बेइमानीका कारण नबरालिने बताउनुभयो ।