
स्याङ्जा, ७ असार । नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले एमाले सत्ता समीकरण परिवर्तनकोे पक्षमा नरहेको बताउनुभएको छ ।
शुक्रबार एमाले वालिङ नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले भन्नुभयो, ‘एमालेको मिसन सत्ता परिवर्तन होइन, मिसन ८४ हो ।’ कसैले चाहँदैमा सरकार परिवर्तन नहुने उहाँको भनाई छ ।

बितेका ३४ वर्षमा २७ पटक सरकार परिवर्तन भएको दाबी गर्दै उहाँले एमाले स्थिर सरकारको पक्षमा रहेको बताउनुभयो । एमाले जतिबेला पनि वर्तमान सरकारको कार्यसम्पादनमा सहयोग गर्न तयार रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सरकारले नीति तथा कार्यक्रममा सत्ता समीकरण दलहरुसँग छलफल र समन्वय नगरेको उहाँले गुनासो गर्नुभयो । ‘सत्तामा बस्दैमा, हुँदैमा आँखा बाँधेर सलाम ठोक्न सकिदैँन ।’ उहाँले भन्नुभयो । तर, एमाले वर्तमान सरकारलाई ‘डिस्टर्भ’ गने पक्षमा नभएको जिकिर गर्नुभयो ।
नेपालमा राजनीतिक अस्थितरताले उद्योग, कलकारखाना संकटमा परेको बताउँदै उहाँले उद्योगी, व्यापारी र लगानीकर्तालाई हतोत्साही नहुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुल ग्रहस्थ उत्पादन ह्वात्तै घटेको छ । आयात दिनहुँ बढ्दै गएको छ र निर्यात घटेको छ ।’ सीप, जोस, जाँगर मात्रै पलायन नभई ठूलो मात्रामा आर्थिकसमेत बाहिर गएको सचिव अर्यालको भनाई थियो ।








प्रतिक्रिया