
काठमाडौं, ६ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिँदै मलको अभाव नहुने बताउनुभएको हो ।
उहाँले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने जानकारी दिनुभएको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको बताउँदै उहाँले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट गर्नुभएको छ ।
मन्त्री ज्वलाले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र यसमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको बताउनुभयो ।









प्रतिक्रिया