
काठमाडौं, ५ असार । सत्तारुढ दल नेकपा (एमाले)ले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावण तत्काल बनाउन माग गरेको छ ।
दुग्ध किसानहरुले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । यस क्रममा प्रहरीले किसानमाथि धरपकड गरी ४५ जना भन्दा बढी किसानलाई पक्राउसमेत गरेको थियो ।
बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्नुभएका एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रहरीले दुग्ध किसानमाथि आज गरेको व्यवहार अमर्यादित भएको बताउनुभयो । उहाँले किसानहरुले भुक्तानी नपाउँदा उहाँहरु पीडित बनेको बताउनुभयो ।
बर्तौलाले भन्नुभयो, ‘किसानले सरकार र निजी डेरिहरुलाई दुग्ध पदार्थ बेच्नुभयो । दुध बेचेको रकम भुक्तानीको लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरु पुगे । दुग्ध विकास संस्थान र निजी डेरिहरुले ५ देखि ६ अर्ब किसानहरुलाई तिर्नुपर्ने छ । भुक्तानी नपाउँदा उहाँहरु पीडित हुनुहुन्छ, गाईवस्तुलाई पिठो र दाना किन्न सक्ने अवस्थासमेत किसानको छैन् ।’
यस्तै, बिहानै पक्राउ परेका किसानलाई भेटेर आएको उल्लेख गर्दै प्रमुख सचेतक बर्तौलाले किसानको भुक्तानी दिन बाँकी बक्यौता तत्काल तिर्ने वातावरण बनाउन अर्थ मन्त्रालय, कृषि मन्त्रालय र प्रधानमन्त्री पुष्पकमद दाहालको ध्यानाकर्षण गराउँदै भुक्तानीका लागि माग गर्नुभयो ।
‘यो विषयमा म विशेषगरी कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन चाहान्छु । राज्यको तर्फबाट तिर्नुपर्ने र राज्यले वातावरण बनाइदिएर निजी डेरिको तर्फबाट किसानहरुले पाउनुपर्ने दुधको भुक्तानी बक्यौता अभिलम्ब भुक्तानि गरियोस् भन्ने जोडदार माग गर्छु ।’ बर्तौैलाले भन्नुभयो ।
उहाँले आन्दोलनरत किसानसँग सरकारले वार्ता गरी बाँकी बक्यौता भुक्तानी गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
निजी र सरकारी पक्षबाट दुग्ध किसानको बाँकी बक्यौता भुक्तानी हुनुपर्नेलगायतका मागसहित पीडित किसानहरु आजदेखि काठमाडौंमा आन्दोलनमा छन् ।
सरकारले पटक-पटक किसानसँग गरेको सहमति कार्यान्वयन नगर्दा किसान मर्कामा परेका छन् ।









प्रतिक्रिया