
काठमाडौं, ५ असार । ‘खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने मूल नाराका साथ नेपाल खेलकुद महासंघको स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सुरु भएको छ ।
मंगलबार सुरु भई बिहीबारसम्म महासंघको केन्द्रीय कार्यालय बानेश्वरामा चल्ने बैठक तथा प्रशिक्षण कार्यक्रमको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शुभारम्भ गर्नुभएको थियो । पोखरेलले गमलामा पानी हालेर कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराई, एमाले स्थायी कमिटी सदस्य एवं महासंघका इन्चार्ज कर्णबहादुर थापा, एमाले केन्द्रीय कमिटी सदस्य रचना खड्कालगायतका नेताहरूको सहभागिता थियो ।

कार्यक्रममा पार्टी महासचिव पोखरेलले दशौँ महाधिवेशनको कार्यदिशा र जनताको बहुदलीय जनवादका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै, स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले भूराजनीति तथा कूटनीतिक सम्बन्धका विदेश नीतिका बारेमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं जनसंगठन संयन्त्रका उपप्रमुख रचना खड्काले जनसंगठन र पार्टीबीचको अन्तर सम्बन्धका बारेमा प्रशिक्षण दिनुभएको छ ।
आज पनि नेताहरूले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको महासंघका केन्द्रीय कोषाध्यक्ष उज्वल सुवेदीले जानकारी दिनुभयो ।
बैठक तथा प्रशिक्षण कार्यक्रम भोलिसम्म चल्ने छ ।
महासंघका नेताहरूलाई वैचारिक रूपमा सबल बनाउन तथा बुझाइमा एकरूपता कायम गराउनको लागि प्रशिक्षण आयोजना गरिएको सुवेदीले बताउनुभयो । प्रशिक्षक प्रशिक्षण लिने प्रशिक्षार्थीले देशैभरी प्रशिक्षण कार्यक्रम चलाउने छन् ।









प्रतिक्रिया