१ श्रावण २०८३, शुक्रबार

राष्ट्रपति पौडेल आज स्वदेश फर्किंदै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किंदै हुनुहुन्छ ।

मंगलबार बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले राष्ट्रपति पौडेललाई बिदाई गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल कतारबाट पनि नेपालका लागि उडिसक्नुभएको छ । पौडेल अहिले बिहान १०ः४५ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।

राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेशराज चालिसेले राष्ट्रपतिको यो भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्वस्तरमा विस्तार र सुदृढ गर्न महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो । लामो समयपछि युरोपका प्रभावशाली मुलुकका राष्ट्र प्रमुखस्तरमा भएको यो भेट ऐतिहासिक भएको बताउँदै डा. चालिसेले आइएलओमा राष्ट्रपति पौडेलको सहभागिताले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनमा नेपालको ऐक्यवद्धता प्रदर्शित भएको बताउनुभयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जर्मन र स्वीट्जरल्याण्डको भ्रमण अन्यन्त सफल तथा फलदायी भएको बताउनुभयो । साथै, अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा राष्ट्रपतिबाट भएको सम्बोधनमा व्यक्त विचारले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित एवम विस्तार गराउन महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ छ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरसँग भेटवार्ता गर्नुभएको थियो भने दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो ।

दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नुभएको थियो ।

जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गर्नुभयो भने अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गर्नुभयो ।

उहाँले सोमबार तत्कालिन पूर्वी र पश्चिम जर्मनी बीचको भत्किएको पर्खालसहितका ऐतिहासिक स्थलको अवलोकन गर्नुभयो ।

बर्लिन जानुअघि राष्ट्रपति पौडेलले स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाट्न सत्रलाई सम्बोधन गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलको यो पहिलो औपचारिक विदेश भ्रमण हो । पौडेल जेठ २९ गते मंगलबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।