
धनगढी, ५ असार । अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको मंगलबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस हुनुभएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।
गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहनुभएका मग्राठी गर्मीले बेहोस हुनुभएको थियो । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।
गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा मंगलबारबाट थप तीन दिन बिदा दिइएको छ ।
धनगढी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक गरेको सूचनामा गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी असार ७ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । गर्मी बढेपछि यसअघि गत जेठ महिनामा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो ।








प्रतिक्रिया