
काठमाडौं, ४ असार । राष्ट्रिय सभामा नेकपा (एमाले)का संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता र बलियो राजनीतिक शक्ति निर्माणका लागि एमालेले ‘मिसन ८४’ अघि सारेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेता दाहालले अस्थिर राजनीतिले समृद्धि हाँसिल गर्न नसकिने भएकाले बलियो राजनीतिक शक्ति निर्माण जरुरी रहेको बताउनुभयो ।
एमाले पोलिटब्युरो सदस्य एवम् स्थानीय विकास विभाग प्रमुखसमेत रहनुभएका उहाँले मिलेमतोमा सरकार बनाउनुपर्ने, टिकाउनुपर्ने जस्ता कुराले देशले स्थिरता र समृद्धिको लय समात्न नसकेको उल्लेख गर्नुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि आयात प्रतिस्थापन गर्दै राष्ट्रिय पूँजीको निर्माण जरुरी भएको भन्दै नेता दाहालले अस्थिर राजनीति रहेसम्म यी सम्भव नहुने बताउनुभयो ।
संसदीय दलका नेता दाहालले संविधानको रक्षा र कार्यान्वयन सवै राजनीतिक दलहरुको दायित्व भएको बताउनुभयो । कुनै एक दल वा शक्तिले मात्र देशमा परिवर्तन नल्याएको भन्दै परिवर्तनकारी दलहरुले यसको रक्षा र कार्यान्वयन गर्ने उहाँको भनाई थियो।
संविधानको प्रभावकारी कार्यान्वयनका लागि अति आवश्यक कानूनहरु तुरुन्तै निर्माण गर्नु पर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय सभा विधायन समितिको उपसमितिले ४२ कानून तुरुन्त बनाउन गरेको सिफारिस कति कार्यान्वयन भयो भन्दै सरकारसँग प्रश्न पनि गर्नुभयो ।
तीन तहका सरकारबीच दर्विलो विश्वास कायम गरी संविधान कार्यान्वयन गर्नुपर्ने भन्दै उहाँले प्रदेश सरकारले साझा अधिकारका विषयमा एकल निर्णय लिन नहुने र संघीय सरकारले पनि प्रदेशका एकल अधिकार माथि हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभयो ।
आफ्ना न्यायोचीत मागहरु अघि सार्दै आन्दोलित बनेका संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागिसमेत नेता दाहालले सरकारलाई आग्रह गर्नुभयो । उहाँले संसार भरिनै स्थापित अभ्यास र मूल्य, मान्यताका आधारमा कर्मचारीहरुका न्यायोचित मागहरु सरकारले अबिलम्ब पूरा गर्नुपर्ने उहाँको भनाई थियो ।








प्रतिक्रिया