१४ असार २०८३, आइतबार

विकासका लाभहरू उल्टिने जोखिम छ : प्रधानमन्त्री

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै नेपालमा कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताउनुभएको छ ।

नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्न वित्तीय सहायता महत्त्वपूर्ण भएको उल्लेख गर्दै उहाँले नेपालजस्ता देश संवेदनशील भएको बताउनुभएको हो ।

“हामी धेरै संकटहरूमा संवेदनशील छौँ, र हामीले कठिनाइपूर्वक प्राप्त गरेका विकास लाभहरू उल्टिने जोखिम छ ।” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

यस्तै, दाहालले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान दिँदा पनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव र असरको चुनौती सामना गरिरहनु परेको उल्लेख गर्दै जलवायु असरबाट भएको क्षतिको न्यायपूर्ण क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिनुभयो ।

दाहालले भन्नुभयो, “हाम्रो नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको क्षति र हानिको क्षतिपूर्ति पाउनका लागि हामीले जलवायु न्यायको पक्षमा वकालत गरिरहेका छौँ ।”

दाहालले विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीका कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताउनुभयो ।

राजनीतिक स्थिरतापछि यहाँका पर्याप्त सम्भावनालाई उपयोग गर्दै आर्थिक विकासको बाटोमा दृढ रूपमा नेपाल अघि बढेको जानकारी गराउँदै दाहालले एशियाका दुई ठूला अर्थतन्त्रहरूबीचमा रहेको नेपालमा जलविद्युत, पर्यटन र कृषि व्यवसाय क्षेत्रहरूमा राम्रो विकासको सम्भावना रहेको बताउनुभयो । उहाँले मेहनती युवा जनसंख्या नेपालको विकासका लागि सबल पक्षको रुपमा चित्रण गर्नुभयो ।