२९ असार २०८३, सोमबार

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ ।

मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले संघीय राजधानी काठमाडौं आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ ।

‘मनसुन कोशी प्रदेशको पूर्वतिर रहेको छ । यो पश्चिमतर्फ विस्तारका क्रममै छ तर निकै सुस्त गतिमा । काठमाडौं आइपुग्न दुईदेखि तीन दिन र काठमाडौं पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ ।’ मौसमविद् मानन्धरले भन्नुभयो ।

अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको जानकारी दिँदै मानन्धरले यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको बताउनुभयो ।

महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि वर्षा प्रभावकारी हुन सकेको छैन् ।