२८ असार २०८३, आइतबार

प्रहरी प्रमुख फेरिने कुरा हल्ला मात्रै : प्रधानमन्त्री

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरी प्रमुख परिवर्तनको हल्लाको स्पष्टीकरण दिँदै हिँड्नुभएको छ । नेपाल प्रहरीको विभागीय जिम्मेवारी गृह मन्त्रालयसँग छ । गृह पनि हेर्ने गरी उपप्रधानमन्त्रीले नेपाली सेना बाहेकका सबै सुरक्षा निकायको समन्वय गर्नुहुन्छ ।

विभागीय जिम्मेवारी पाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रहरी संगठनको नेतृत्वलाई साथमा लिएर विमानस्थल र कतिपय निकायको स्थलगत अनुगमन गर्न दौडधुप गरिरहनुभएको देखिन्छ । तर विभागीय मन्त्रीभन्दा एक कदम अघि सरेर प्रधानमन्त्री स्वयं प्रहरी प्रमुख फेरबदल हुने सामान्य प्रक्रियाको सम्बन्धमा स्पष्टीकरण दिँदै हिँड्नुभएको छ, जसलाई अनौठो मानिएको छ ।

गृह जिल्ला चितवन पुग्नुभएको प्रधानमन्त्री दाहालले सम्वाददाताहरुले राखेको जिज्ञासामा नेपाल प्रहरीको महानिरीक्षक परिवर्तन हुने कुरा हल्लामात्रै भएको स्पष्ट पार्नुभयो । आफूले ढुक्क भएर काम गर्न महानिरीक्षकहरूलाई निर्देशन दिएको पनि बताउनुभयो । ‘दुवै प्रहरी संगठनका आईजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु ।’ दाहालले भन्नुभयो, ‘त्यही स्पिरिटमा काम गर्नुस् भनेको छु । आईजीपी परिवर्तन हुँदैन । त्यो हल्लामात्रै हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा रहेको गृह प्रशासन संयन्त्रले प्रधानमन्त्री दाहालका कतिपय निर्देशनहरु उपेक्षा गरेको महसुश गर्नुभएर दाहाल स्वयंले नेपाल प्रहरीको नेतृत्वप्रति असन्तोष प्रकट गर्नुभएको थियो । यसैलाई आधार बनाएर प्रहरी प्रमुख फेरिन लागेको भनेर चुहिएको सूचनाले होहल्ला सिर्जना गरेपछि नेपाल प्रहरीले विज्ञप्ति प्रकाशित गरेर यसको खण्डन गरेको थियो ।