
चितवन, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनुभएको छ । सोमबार बिहान चितवन पुग्नुभएको प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताउँदै सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘विरोध जस्तो मात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन् । उथलपुथल गर्ने बेला भएको छैन् । यो जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा आउने र्युमर (अफवाह)हरूमा सत्यता छैन् ।’
रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नि, हामी त्यस्ता हौँ भनेर । त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन् ।’
गत जेठ १५ गते सदनमा पेश भएको आगामी आर्थिक वर्ष ०८/८२ को विनियोजित बजेटलाई लिएर एमाले अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्दै आफ्ना सांसदहरुलाई खुलेर छलफल गर्न निर्देशन दिनुभएको थियो ।
त्यस्तै, रास्वपाका मन्त्रीहरुले राजीनामा बोकेर हिँडेको अभिव्यक्ति दिँदै सत्ता सहकार्यको समीक्षा गर्ने बेला भएको बताउनुभएको थियो ।
त्यस्तै, एकीकृत समाजवादीले पनि सार्वजनिक रुपमा नै सरकारको आलोचना गरिरहेका छ । बजेटको विषयमा स्वयं माओवादी भित्र पनि असन्तुष्टि रहेको छ ।








प्रतिक्रिया