२८ जेष्ठ २०८३, बिहिबार

अब विकास र समृद्धिको काममा अघि बढ्नुपर्छ : गुरु बराल

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज गुरु बरालले राजनीतिक परिवर्तन भइसकेकोले अब विकास र समृद्धिको काममा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

एमाले बागमती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारीसहितको प्रशिक्षण कार्यक्रममा बोल्दै बरालले राजकीय क्षेत्रबाट देश परिवर्तनको लागि एमालले मिसन २०८४ भनेको स्पष्ट पार्नुभयो । अहिले संघ र प्रदेश सरकार एमालेको अनुकूल नभए पनि स्थानीय सरकारमा एमालले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने उहाँले बताउनुभयो । ‘मिसन २०८४ पर्खेर बस्ने होइन, हस्तक्षेपकारी भूमिका खेलिहाल्नु पर्छ ।’ उहाँले भन्नुभयो ।

उहाँले पार्टीको जग भनेको जनसंगठन र विभाग नै भएका बताउनुभयो । हिजो एउटा मानिसले १० वटा काम गर्नुपर्ने अवस्था भएपनि अब हरेक व्यक्तिलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । राजनीतिक परिवर्तनबाट संविधान बनिसकेपछि अब विषयगत विधाका मानिसहरू आवश्यक रहेको बताउँदै एमालले विभिन्न विभाग बनाएको बरालले बताउनुभयो ।

एमाले एउटा विश्वविद्यालय भएको उहाँले बताउनुभयो । अब आफ्नो काममा कसरी राम्रो रिजल्ट दिने हो भन्ने तर्फ जिम्मेवारी लिएका नेताहरू लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । भू-गोल अनुसारका फरक प्रकृति भएकाले सबै कुरालाई दृष्टिगत गरी पार्टी कामका योजना बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । आ-आफ्ना क्षेत्रको अध्ययन गरी योजना बनाएर काम गर्नुपर्ने बरालले बताउनुभयो । ‘अब कामको विशिष्टीकरणमा हात हाल्नु पर्छ ।’ उहाँले भन्नुभयो ।

बरालले अब परम्परागत रूपमा पार्टी नचल्ने बताउनुभयो । अब आधुनिक प्रविधिको प्रयोग गरी समयको मागअनुसार पार्टीका काम अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।