२१ असार २०८३, आइतबार

सुखद् नतिजा आउनेगरी काम गरिरहेको श्रममन्त्री अर्यालको दाबी (भिडिओसहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले तत्काल परिणाम नदेखिए पनि सरकारले भविष्यमा सुखद् नतिजा आउनेगरी काम गरिरहेको बताउनुभएको छ ।

मन्त्रालयको नेतृत्व गरेको आफ्नो सयदिनको कार्यप्रगति सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । तत्कालै परिणाम नआए पनि दिगो रुपमा नेपाली नागरिकलाई स्वदेशमै राख्ने र विदेश जानै पर्दा सुरक्षित पठाउने विषयमा गम्भीर रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘श्रम मन्त्रालयले गरेका कामको आजको आजै नतिजा नदेखिए पनि दिगो रुपमा कसरी नेपाली नागरिकलाई स्वदेशमै राख्न सकिन्छ भन्ने एउटा विषय र अर्को विषय विदेश जानै पर्दा कसरी सुरक्षित पठाउन सकिन्छ, कसरी बढीभन्दा बढी लाभ उहाँहरुलाई दिलाउन सकिन्छ भन्ने हाम्रो प्रयास भएको हुनाले हाम्रा सबैजसो बैठकहरुमा यही विषयमा छलफल हुन्छ ।’

रोजगारीको खोजीमा रहेका नेपाली नागरिकलाई समयसापेक्ष र निःशुल्क अभिमुखीकरण तालिमको विषयमा पनि प्रयास जारी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली नागरिकहरु, जो रोजगारीको खोजीमा हुनुहुन्छ, उहाँहरुलाई प्रभाव पार्ने खालका कामहरुको सुरुवात गरेका छौ । त्यसैअन्तर्गत पूर्वप्रस्थान अभिमुखीकरण तालिममा ठूलो रकम खर्च गर्नुपर्ने एउटा निर्णय भएको थियो, यसलाई खारेज गरेर, यसको समयसापेक्ष के हुन सक्छ, र यसलाई सकिन्छ भने निःशुल्क कसरी कसरी गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहेका छौँ ।’ अंग्रेजी विषयमा मास्टर्स डिग्री गरे पनि विदेशमा जानका लागि भाषा सिकेर मात्र जानुपर्ने भन्ने खालको कार्यविधि खारेज गरेको पनि उहाँको भनाइ छ ।

यस्तै, उहाँले माग प्रमाणीकरणको काम अनलाइनबाट नै छिटो रुपमा गर्ने सुरुवात गरेको भन्दै साउन १ गतेबाट यो पनि लागू हुने पनि बताउनुभयो । ‘वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालयमा श्रम स्वीकृति १ घण्टामा ल्याउन सकिन्छ कि भनेर प्रयास गरेका थियौँ र फलस्वरुप वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, लागत र काम सजिलो भएको हामीले बुझेका छौँ । श्रम स्वीकृति सम्बन्धी सेवा प्रवाह चुस्त र प्रभावकारी भएको हामीले बुझेका छौँ ।’ उहाँले भन्नुभयो ।

कल सेन्टरका विषयमा अपेक्षाअनुसार तयारी नपुगेको उहाँले बताउनुभयो । ‘कल सेन्टर स्तरीय बनाउनु पर्छ भन्ने कुरामा हामी सजग छौँ र त्यसमा निरन्तर काम गरिरहेका छौँ ।’ उहाँले भन्नुभयो, ‘मलाई आशा छ, साउन १ गते पछाडि हामीले सोचेको जस्तो कल सेन्टर बन्छ र त्यसको तयारी असार महिनाभर निरन्तर गर्ने छौ । यसले विगतको तुलनामा एकदमै नागरिकलाई फाइदा पुगेको छ ।’

भर्खरै सम्पन्न श्रमाधान रोजगार मेलाबाट तथ्यांक संकलन गर्ने काम भएको उहाँले बताउनुभयो । ‘यस्तो मेला गर्नको लागि सातै प्रदेशले आगामी वर्ष बजेट छुट्याउने प्रतिबद्धता गर्नु भएको छ, यो उपलब्धी हो,’ उहाँले भन्नुभयो, ‘रोजगारदाता र रोजगारीको खोजीमा रहेका मानिसको बीच समन्वय गराउने एउटा अवसरको पनि सुरुवात भएको छ ।’

मन्त्रिपरिषद्को बैठकबाट नै बालश्रम निषेध गर्ने ऐन २०५६ को अनुसूचीमा केही बुदाँहरु थपेको उहाँले बताउनुभयो । राष्ट्रिय व्यवसायी सीप विकास तालिम नीति २०८० को मस्यौदा तयार भएको र आन्तरिक रोजगारी प्रवर्धन तथा श्रम प्रशासन सुदृढीकरणका लागि योजनाहरु अघि बढेको जानकारी उहाँले दिनुभयो ।