२१ जेष्ठ २०८३, बिहिबार

अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आह्वान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलबर्न, २ असार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ ।

नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरुले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको बताउनुभयो । ‘नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ ।’ उहाँले भन्नुभयो, ‘लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ ।’

महासंघको नेतृत्वमा स्थापना हुने १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनीको विषय सरकारले आगामी वर्षको लागि ल्याएको बजेटमासमेत समावेश गरेको उल्लेख गर्दै यसले नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने उहाँले बताउनुभयो ।

उहाँले यस कम्पनीमा शेयर लगानी गर्दै नेपालको विकास र सम्मृद्धिमा हातेमालो गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले नेपालमा रेमिट्यान्स पठाउँदा औपचारिक बैंकिङ माध्यमको प्रयोग गर्न जोड दिनुभयो । उहाँले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्नेसमेत उहाँले बताउनुभएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको बताउनुभयो ।
नेपाली बैंकहरु नेपाल राष्ट्र बैंकको रेगुलेसनमा रहेको बताउँदै नेपाली बैंकमा निक्षेप राख्दा सुरक्षित हुने र तुलनात्मकरुपमा बढी ब्याज पाइने समेत उल्लेख गर्नुभयो ।

उहाँले ग्लोबल आइएमई बैंकले गैर आवासीय नेपालीहरूलाई बैंकिङ प्रणालीमार्फत नेपालमा पैसा पठाउन वा अध्ययन, भ्रमण तथा अन्य प्रयोजनको लागि अष्द्रेलिया आउने नेपालीहरूलाई विभिन्न बैंकिङ सेवाहरू उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा दुईसय बढी गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।