६ असार २०८३, शनिबार

विरोधीहरुले भ्रमको तुवाँलो फैलाइरहेका छन् : अध्यक्ष ओली

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलील‍े विरोधीहरुले पार्टीमाथि निरन्तर हमला गरिरहेको बताउनुभएको छ ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले विरोधीहरूले पार्टीविरुद्ध भ्रमको तुवाँलो तीव्र रुपमा फैलाइरहेको बताउनुभएको हो ।  अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर बनाएर देश अघि बढ्नबाट रोक्नका लागि प्रतिक्रियावादीहरूले एमालेलाई कमजोर बनाउन लागि भ्रम फैलाइरहेको बताउनुभयो ।

उहाँले प्रतिक्रियावादी शक्तिहरू विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर, ती थैलाहरू भर्न असभ्य, अमर्यादित, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गरिरहेको भन्नुहुँदै भ्रमका तुवाँलाहरू फैलाउने खालका विपरीत क्रियाकलापहरूमा एमाले नलाग्ने र त्यस्ता भ्रमको खण्डन गर्न पार्टीका सांसद्हरुलाई निर्देशन दिनुभयो ।

‘प्रतिक्रियावादी शक्तिहरू जस्तो विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर, ती थैलाहरू भर्न असभ्य, अमर्यादित, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने खालका विपरीत क्रियाकलापहरूमा हामी लाग्दैनौँ, तर हामीले भ्रमको खण्डन गर्नु परिहाल्छ ।’ अध्यक्ष ओलीले भन्नुभयो ।

यसैगरी, अध्यक्ष ओलीले पार्टीविरुद्ध तीव्र ढंगले दिनैपिच्छे नयाँ नयाँ अकल्पनीय कुराहरू आविष्कार गरेर बजारमा भ्रमको प्रचार भइरहेकोसमेत बताउनुभयो ।

‘हाम्रो पार्टीविरुद्ध तीव्र ढंगले दिनैपिच्छे नयाँ नयाँ अकल्पनीय कुराहरू आविष्कार गरेर बजारमा भ्रमको प्रचार भइरहेको छ । आज बिहान पनि मैले एउटा मिडियामा देखेको थिएँ, ५ अर्ब केपी ओलीले खाइसक्यो, निलिसक्यो कि, मुखमा मात्र हाल्या छ कि, ठिक्क पारेको छ कि, ४ अर्ब कि ५ अर्ब केपी ओलीले खाने भो, खायो भनेर हाम्रा विरोधीहरू, प्रतिक्रियावादीहरू जो देश अगाडि नबढोस् भन्ने चाहन्छन्, राष्ट्रिय शक्तिलाई कमजोर बनाउन चाहन्छन्, त्यसमा उनीहरूको अर्को कुनै उपाय छैन् ।’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भ्रमको जालो फिँजाइदिने, आस्था कसरी हटाइदिन सकिन्छ, जनताको विश्वास कसरी कमजोर बनाउन सकिन्छ, एमालेविरुद्धको विश्वास कसरी कमजोर बनाउन सकिन्छ ? त्यो भइरहेको छ । कतिपय मान्छे देश बुझ्दैनन्, भातमात्रै बुझ्छन् । भात भए देश जेसुकै होस् भन्ने ठान्छन् । तिनीहरूमा सोच पुर्‍याउने काम पनि हाम्रो हो । देश भन्ने उनीहरूको दिमागमा राखिदिने काम पनि हामीले नै गर्नुपर्छ । जे होस्, हामी देश बनाउने संकल्पमा छौं । त्यही काममा अगाडि बढ्छौँ ।