
काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाको नगर सभाको १५औं अधिवेशनमा महानगरको समग्र क्षेत्रको समुन्नति र संरक्षणका लागि वृहत कार्यक्रम प्रस्तुत गरिएको छ ।
प्रमुख बालेन्द्र शाहले महानगरको आगामी नीति भनेर सबै कार्यक्रमहरुको आधारका रुपमा यस्तो सूत्रबद्ध खाका प्रस्तुत गर्नुभएको छ, जस्तो कि- ‘सांस्कृतिक शहर, समृद्ध महानगर’को परिकल्पनालाई साकार पार्न नेपालको संविधान तथा कानूनले प्रत्याभूत गरेको स्थानीय सरकारको अधिकारको प्रयोग र काठमाडौंको ऐतिहासिक र मौलिक पहिचानलाई अभिवृद्धि गर्दै काठमाडौं महानगरलाई सुरक्षित, समावेशी, दिगो र जीवन्त शहरको रुपमा विकास गरिनेछ ।’
यसैको विस्तारित स्वरुपलाई आगामी वर्षका लागि नीति तथा कार्यक्रम भनेर सभामा प्रस्तुत गरिएको छ । महानगरका धेरै नीति कार्यक्रम मध्ये एउटा कार्यक्रम निकै रोचक र महत्वपूर्ण रहेको छ । जसले शहरीकरणको कारण बाससमेत बस्न नपाएका पंक्षीलगायतका प्राणीको संरक्षण गर्न महानगरले छुट्टै कार्यक्रम प्रस्तुत गरेको छ । यो आफैमा प्रशंसनीय सोच, विचार र योजना हो ।
नीति कार्यक्रमको ५६ नम्बर बुँदामा भनिएको छ- ‘नदी किनार तथा अन्य क्षेत्रहरुलाई चराचुरुङ्गी र जीवजन्तुहरुको वासस्थान सुनिश्चितताका लागि संरक्षण कार्यक्रम कार्यान्वयन गरिनेछ । ग्रीन रुफ प्रवर्धनका लागि घरधनीहरुलाई प्रोत्साहित गरिने छ ।’
घरको क्षेत्रफल बढाउन नदीको वहाव क्षेत्र संकुचित बनाउने र करिडोर सडक समेत साँघुरो पार्ने कार्यमा सक्रिय ठूलो गिरोहले त्यसक्षेत्रका हरियाली समाप्त पार्न अतिक्रमण गरेको हो । जसले गर्दा बिरुवा वनस्पति उम्रिन र हुर्कन पाएनन् । पछि महानगरपालिकाकै पहलमा रोपिएका अनेक प्रजातिका बिरुवा वनस्पतिहरु पनि मुस्किलले हुर्किएका छन् । महानगरको नयाँ नीति अनुसार नदी किनारा क्षेत्रलाई हरियालीयुक्त बनाउन सकियो भने पशुपंक्षी लगायतका प्राणीली बास पाउनेछन् । उनीहरुको आवागमन भयो भने स्थानीय बासिन्दालाईसमेत प्राकृतिक वातावरण प्राप्त हुन्छ र निराश बन्दै गएको शहरी जीवनमा ताजगी आउँछ । महानगरको यो नवीन सोचमा आधारित योजना सफल बनाउन सबै नागरिकको पनि उत्तिकै सहभागिता जरुरी छ ।
महानगरले शिक्षा र युवा स्वरोजगारीलाई निकै महत्व दिएको छ । ज्येष्ठ नागरिकको हेरचाह र स्वास्थ्य सेवा पनि उत्तिकै उच्च प्राथमिकतामा राखिएको छ । महानगरको सांस्कृतिक विविधताको संरक्षण, जिर्णोध्दार र पर्वहरुको प्रचार पनि महानगरको महत्वपूर्ण कार्ययोजनामा परेका छन् । विपन्न वर्गको जीवनयापन प्रति चासो राख्दै आकर्षक कार्यक्रम ल्याउने वाचाले महानगरप्रति सर्वसाधारणको भरोसा बढेर जाने देखिएको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण र प्रवर्धनमा देखिएको सक्रिय भूमिकाले महानगरलाई विश्वास गर्ने आधार पनि बलियो बन्दै गएको छ ।
१५औं अधिवेशनमा प्रस्तुत नीति र योजनाहरुको सफल कार्यान्वयनले वृहत क्षेत्रको हित गर्ने निश्चित छ । यसले स्थानीय निकायको उपस्थिति पनि सिद्ध हुनेछ । देशको राजधानी र ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्वका कैयन स्थानहरु रहेको काठमाडौं महानगर क्षेत्रको समग्र बिकास भनेको देशकै बिकासको लागि पनि प्रेरणा र हौसलाको विषय हुने नै छ ।
नयाँ नीति र कार्यक्रम आउनु नै महत्वपूण कुरा होइन । यसको सफल कार्यान्वयन ठूलो पक्ष हो । महानगरले विगतमा सम्पन्न गरेका अपत्यारिला जस्ता लाग्ने कार्यले उसको विश्वसनियता बढेको देखिन्छ । यसलाई जोगाएर आगामी दिनहरुमा यसैगरी दृढनिश्चयी बनेर काम गर्दै अघि बढेमा काठमाडौं महानगरपालिका साँच्चै नै राजधानीवासी र राजधानीको पनि अभिभावक भएको पुष्टि हुने छ ।








प्रतिक्रिया