सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

भारतको विदेशमन्त्रीमा फेरि जयशंकर, कसले कुन मन्त्रालय पाए ?

दैनिक नेपाल २०८१ जेठ २९ गते ९:१९

काठमाडौं, २९ जेठ । चुनावी परिणामले सबैलाई भाग पुर्‍याएर सरकार चलाउनुपर्ने अवस्थामा पग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गर्नुभयो ।

भारतीय इतिहासमै लगातार चुनाव जितेर तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो नेता बन्नुभएका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । जबकि विगतमा उहाँको दल भारतीय जनता पार्टीले बहुमत ल्याउँदा मोदी मन्त्रिपरिषद् सन् २०१४ मा ४६ र सन् २०१९ मा ५२ सदस्यीयमात्रै थियो । यसपटक बहुमत नपाएकै कारण प्रधानमन्त्री मोदीले सबैलाई समेटेर मन्त्रिपरिषद् गठन गर्न बाध्य हुनुभयो । तर शक्तिशाली मन्त्रालयहरूमा भने पुरानै नेताहरुलाई दोहोर्‍याउनुभएको छ ।

प्रधानमन्त्री मोदीले सोमबार अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने राजनाथ सिंहलाई रक्षा र निर्मला सीतारमणलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिनुभएको छ । नेपालले चासोका साथ लिएको विदेश मामिला मन्त्रालयमा पनि डा. एस जयशंकर दोहोरिनुभएको छ । जयशंकर यसअघि पनि विदेशमन्त्री नै हुनुहुन्थो ।

प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्मा नयाँ प्रवेश गर्नेहरुमध्ये शिवराज सिंह चौहानलाई कृषि तथा ग्रामीण विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । चौहान मध्य प्रदेशका पूर्वमुख्यमन्त्री हुनुहुन्छ । मोदीले भाजपाका अध्यक्ष जेपी नड्डालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा फर्काउनुभएको छ । उहाँ मोदीको पहिलो कार्यकालमा स्वास्थ्यमन्त्री हुनुहुन्थो ।

त्यस्तै, यातायात मन्त्रीमा नितिन गडकरी दोहोरिनुभएको छ भने हरियाणाका पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टरलाई शहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । अश्विनी वैष्णवले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । धर्मेन्द्र प्रधान शिक्षामन्त्री बन्नुभएको छ भने पियुष गोयलले उद्योग बाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानमन्त्री मोदीले किरेन रिजिजुलाई संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने अर्जुनराज मेखवाललाई कानून मन्त्रालयकै जिम्मेवारीमा दोहोर्‍याउनुभएको छ । भुपेन्द्र यादव वातावरण मन्त्रालयको जिम्मेवारीमा आउनुभएको छ ।

एचडी कुमारस्वामीले ठूला उद्योग मन्त्रीको जिम्मेवारी पाउनुभएको छ भने जितनराम माझीलाई साना तथा मझौला मन्त्रालय दिइएको छ । कुमारस्वामी जेडी सेक्युलर दलबाट हुनुहुन्छ भने माझी एचएएम सेक्युलरबाट मन्त्री बन्नुभएको हो ।

त्यस्तै, जनता दल संयुक्तका लालन सिंहलाई मत्स्यपालन तथा पशुपालन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, टीडीपीका राममोहन नायडुलाई नागरिक उड्यन मन्त्रालय र एलजेपीका नेता निराग पासवानलाई खाद्य प्रशोधन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, सीआर पाटिलले जलशक्ति मन्त्रालय पाउनुभएको छ । गजेन्द्रसिंह शेखावत संस्कृति र पर्यटन मन्त्री बन्नुभएको छ । गृहमन्त्री अमित शाहले सहकारी मन्त्रालय र अर्थमन्त्री सीतारमणले कर्पोरेट मन्त्रालयकोसमेत जिम्मेवारी सम्हानुभएको छ ।

वीरेन्द्र कुमारलाई सामाजिक न्याय तथा जुआल ओरमलाई जनजाति मामिला मन्त्री बन्नुभएको छ । प्रधानमन्त्री मोदीले प्रल्हाद जोशीलाई उपभोक्ता मामिला, जी किशन रेड्डीलाई खानी र गिरिराज सिंहलाई ग्रामीण विकास तथा पञ्चायतको जिम्मेवारी दिनुभएको छ । अन्नपूर्ण देवी महिला तथा बालविकास मन्त्री बन्नुभएको छ ।

आरएलडी नेता जयन्त चौधरीलाई सीप विकास र उद्यमशीलता मन्त्रालय तथा शिवसेना नेता जाधव प्रतापराव गणपतरावले आयुष मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित