
कुवेत, २१ जेठ । कुवेतका अमिरले राजगद्दी सम्हालेको छ महिनापछि र संसद निलम्बन गरेको केही हप्तापछि शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गर्नुभएको छ ।
सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेशमन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसक्नुभएका ७१ वर्षीय शेख राजनीतिक एवं कुटनीतिक जगतमा अनुभवी व्यक्ति मानिनुहुन्छ ।
गत मे महिनामा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको छ हप्तापछि संसद विघटन गरेपछि कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उहाँले संविधानका केही प्रावधान पनि निलम्बन गर्नुभएको थियो ।
गत डिसेम्बरमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोक्नुभएको थियो ।अन्य खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ ।
सांसदहरूसँग अधिकार भएपनि सरकारसँग उहाँहरूको नियमित लडाईंले बारम्बार संकट निम्त्याउँछ ।
कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भण्डार छ र यो देशमा विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष रहेको छ । तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न संघर्ष गरिरहेको छ ।









प्रतिक्रिया