
काठमाडौं, २० जेठ । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै डा.महतले ऋणको भार बढिरहेका बेला ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिएको भन्दै आलोचना गर्नु भएको हो ।
उहाँले भन्नुभयो, ‘१८ खर्ब ६० अर्ब बजेट पुर्याउन अर्थमन्त्री वर्षमान पुनजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिनु भयो । यो रकम सानो रकम होइन । उत्पादनाशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि हुँदैन।,’
बजेटमाथि टिप्पणी गर्दै उहाँले उत्पादन र रोजगारी बढे मात्रै राजश्व वृद्धि हुने भन्दै ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका व्यक्त गर्नुभयो । उहाँले भौतिक मन्त्रालयलाई १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पुर्याएको बताउँदै सहरी विकास योजनामा केवल ६६ अर्ब ९२ करोड बनाएको उल्लेख गर्दै मन्त्रालयगत रुपमा बजेटको विभाजन असमान रहेको धारणा राख्नुभयो ।
साथै उहाँले आलू, प्याज र स्याउसहितका फलफूलमाथि भन्सारमा लगाएको भ्याट हटाएर कसरी स्वदेशी उत्पादनको संरक्षण हुन्छ ? भन्ने प्रश्न गर्नु भएको थियो । उहाँले अर्थमन्त्रीले सिधै झुटो बोलेको बताउँदै यसले विदेशी उत्पादन नेपाली बजारमा सस्तो हुने र नेपाली उत्पादनले बजार नपाउने दावी गर्नुभयो ।









प्रतिक्रिया