
काठमाडौं, २० जेठ । कांग्रेस सांसद रामहरी खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानून विपरित हुकुमी शासन सुरु गरेको भन्दै सरकारको जवाफ माग गर्नु भएको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद खतिवडाले गृहमन्त्री लामिछानेले ट्राफिक प्रहरी नियमावली विपरित आफूखुसी काम गरेको भन्दै विरोध गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘एकजना उपप्रधानमन्त्रीले ट्राफिक महिला दिदीबहिनीहरुलाई पिरिएडको समय चार दिन बिदा दिने कामको सुरुवात गर्नुभएछ । कानून बनाएर गर्दा यो असाध्यै राम्रो काम हो । हामी स्वागत गर्न चाहान्छौं । तर, देश हुकुमी शासनमा होइन कानून अनुसार चल्नुपर्छ ।’
यस्तै, खतिवडाले ट्राफिक नियम मिच्नेलाई स्वयंसेवकको रूपमा एक घण्टा सडकमा खटाउने गृहमन्त्री लामिछानेको विवादास्पद निर्णयप्रति पनि असन्तुष्टि जनाउनु भएको छ । ‘सडक प्रयोगका क्रममा विभिन्न कारणले सवारी नियम उल्लङ्घन गरेका चालकलाई सडकमा स्वयंसेवकका रूपमा खटाउन थालेपछि आज संसदमा उक्त विषयलाई उठाउँदै खतिवडाले भन्नुभयो, ‘मापसे गरेकालाई बिहान सडकमा ल्याएर उभ्याउने रे, यो कुन कानून र कुन नियमावलीमा छ ?गृहमन्त्रालयले प्रहरीलाई नियम अनुसार काम गर्न निर्देशन गरेको छकि मन्त्रालयबाट पत्राचार भएको छ ?यसरी देश चलाउने ? शासन पद्धतिको अन्त्य गर्न लागेका मान्छेले फेरि हुुकुमी शासन चलाउने पद्धतिको हामी विरुद्धमा छौं ।’
उहाँले ट्राफिक स्वयमसेवकको रुपमा विद्यार्थीहरु पनि जाने गरेकाले त्यसले उनीहरुमा नकारात्मक असर पार्ने उल्लेख गर्दै थप्नुभयो, ‘मापसेमा लरबर हुँदै उभ्याइकाहरु र पहेँलो ज्याकेट लगाएर सडकमा खटाइएका सबै मापसे गरेर कारबाहीमा परेका हुन भन्ने पर्न गयो भने देश कतातिर जान्छ ? सडकमा स्वयंसेवा गर्नेको इज्जत रहन्छ की रहँदैन ? तुरुन्त यो काम बन्द गरेर कानून अनुसार काम गर्नेव्यवस्थाको सुरुवात होस भन्ने माग गर्न चाहन्छु ।’









प्रतिक्रिया