
पोखरा, १९ जेठ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०८४ सालको निर्वाचनबाट बहुमत ल्याएर एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने बताउनु भएको छ ।
आज पोखरामा एमाले पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा परिवर्तन गर्न सकिने बताउनुभएको हो । जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापीत हुन सक्दैन । त्यसबेलासम्म देशका समस्या समाधान गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।
देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेप मात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उहाँले खुलाउनुभयो ।
कामको आधारमा अहिलेको समीकरणले दलहरुलाई नजिक ल्याउन भने सक्ने उहाँको भनाइ छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो । अहिलेको समीकरण एमालेललाई निर्णायक तहमा पुर्याउने एउटा कदम मात्र भएको उहाँको भनाइ थियो ।
उहाँले आगामी निर्वाचनमा पोखरा महानगरपालिका ३३ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो महानगरपालिका बनाउन चुनौती भएपनि एमाले बाहेक अरुले बनाउन सक्दैन, त्यसको लागि पुराना घटना विर्सेर अगाडि बढौं’- उहाँको आग्रह थियो ।
एमाले पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटी अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, पोखरा महानगर उपाध्यक्ष मोहन गुरुङ र सचिव जीवन आचार्यले बोल्नुभएको थियो । आइतबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।









प्रतिक्रिया