४ श्रावण २०८३, सोमबार

यार्साको सिजन : के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । यो सिजनको यार्सागुम्बा टिप्न गएका तीन जनाले ज्यान गुमाएका छन् । दुई जनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ । लेक लागेर सिकिस्त एकजनाको उपचार भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना बच्चाको चिसोले कठाङ्ग्रिएर ज्यान गएको थियो ।

यो वर्ष पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याईएका छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिनुभएको छ ।

सिकिस्त बिरामी हुनुभएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचार गर्न लगिएको छ । यार्सा टिप्न पाटन पुगेका तीन जनाको गत वर्ष हिउँ पहिरोमा परेर मृत्यु भएको थियो ।

मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा संकलन गर्न मुगु मकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

जाजरकोट, रुकुम, जुम्ला, डोल्पा, मुगुलगायतका जिल्लाबाट यार्सा टिप्न दशौँ हजार मानिस डोल्पा, रुकुम र मुगुका उच्च पहाडी भेगमा जाने गर्छन् । उनीहरुसँग जोखिम व्यवस्थापन र आपतकालिन उद्धारको कुनै प्रवन्ध हुँदैन । केही सुरक्षाकर्मी सँगसँगै हिँडे पनि दुर्घटना हुँदा आपतकालिन उद्धारको कुनै उपाय देखिँदैन् ।

यार्सा जुम्ला, डोल्पा, मुगु, रुकुम, जाजरकोट, दार्चुला, हुम्ला, मनाङ, मुस्ताङ जिल्लाका बासिन्दाको मुख्य आय स्रोत मानिन्छ ।

नेपालमा प्रत्येक वर्ष झन्डै पाँच अर्ब रुपैयाँको कारोबार हुने यार्सागुम्बाबाट सरकारले दुई करोड रुपैयाँजति राजस्व सङ्कलन गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ ।

रोचक कथा यार्सागुम्बाको

यार्चागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको शब्द हो । तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । जसमा ‘यार’ को अर्थ वर्षा, ‘सा’को अर्थ घाँस र ‘कुन्भु’को अर्थ हिउँदे किरा अर्थात वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ ।

यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्चागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र किडाजडी भनिन्छ । कर्णाली अञ्चलको जुम्ला र हुम्लाका भोटेहरूले यसलाई यार्साकिमु भन्छन् ।

किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्चागुम्बा लिएर गई लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ ।

हुन पनि यो कहिल्यै मर्दैन भनिन्छ । वनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे वनस्पति जिवितै रहन्छ । वनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । यार्चागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रूपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।

कहाँ कति छ

विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्चागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिवर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखुराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ ।

खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनियाँ औषधि विधि अनुसार सेवन गरिन्छ । वीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ ।

हाल यार्चागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ । नेपालको हिमाली भेगमा पाइने यार्सागुम्बा प्रकृतिको अनुपम उपहार मान्छि ।