
काठमाडौं, १९ जेठ । भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आज हुँदैछ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ ।
यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै, कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित चार कलाकार पनि चुनावी मैदानमा रहनुभएको छ ।
निर्वाचन आयोगकाअनुसार सातौं चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन् ।
५४२ लोकसभा सीटहरूको छैटौं चरणसम्म ४८५ सिटको लागि मतदान भइसकेको छ । जुन १ मा अन्तिम ५७ सिटमा मतदान हुनेछ ।
अहिलेसम्म गुजरातको सूरतबाट बीजेपीका उम्मेदवार मुकेश दलाल निर्विरोध निर्वाचित भएकाले ५४२ सिटमा मात्रै मतदान भइरहेको छ ।
यस चरणमा वाराणसी सबैभन्दा भिआइपी सिट हो । प्रधानमन्त्री मोदी विगत १० वर्षदेखि यहाँ सांसद हुनुहुन्छ । उहाँ तेस्रो पटक ठूलो मतान्तरले जित्ने लक्ष्यमा हुनुहुन्छ । यसपटक यहाँबाट प्रधानमन्त्री मोदीविरुद्ध ६ जना मात्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । सुरुमा १४१ जनाले उम्मेदवारी दिएका थिए ।
मोदीविरुद्ध अजय राय कांग्रेस–सपा र भारतीय गठबन्धनबाट चुनाव लडिरहनुभएको तर पछिल्ला तीन चुनावमा उहाँ ठूलो मतान्तरले पराजित हुनुभएको छ ।








प्रतिक्रिया