२६ जेष्ठ २०८३, मंगलबार

अत्यधिक गर्मीका कारण बर्दियाका विद्यालय थप ६ दिन बन्द

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १९ जेठ । अत्यधिक गर्मीका कारण यहाँको गुलरिया नगरपालिकाका विद्यालय थप छ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

गर्मी कम नभएपछि नगर शिक्षा समितिले थप छ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले जानकारी दिनुभयो । वर्षे बिदाबाट कट्टा हुने गरी, विद्यालयको प्रशासनिक कार्य गर्नरगराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द गरिएको शिक्षा शाखा प्रमुख यादवले बताउनुभयो ।

अत्यधिक गर्मीका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको संख्या बढेको छ । बिरामीको चापले अस्पतालमा शैय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा. सुवास पाण्डेले बताउनुभयो । उहाँका अनुसार गर्मी र तातो हावाका कारण बिरामीको सङ्ख्या दिनप्रति दिन बढिरहेका छन् ।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढेको डा. पाण्डेले बताउनुभयो । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र संक्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।