
काठमाडौं, १८ जेठ। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गर्नुभएको छ । दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गर्नुभएका मोदीले अन्तिम मतदान अघि ध्यान गर्नुभएको छ ।
नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुग्नुभएका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बस्नुभएको थियो । उहाँ भोलि जुन १ सम्म त्यहीँ बस्नुहुनेछ ।
लोकसभा निर्वाचनको सातौं र अन्तिम चरणको मतदान पनि भोलि हुँदैछ ।
धोती र सेतो शल ओढेका मोदीले मन्दिरमा पूजा गर्नुभयो र ‘गर्भगृह’ परिक्रमा गर्नुभयो । पुजारीहरूले एक विशेष आरती गरेर उहाँलाई मन्दिरको प्रसाद दिनुभएको थियो ।
मोदी राज्य सरकारले सञ्चालन गरेको शिपिंग कर्पोरेसनको फेरीमा चढेर समुन्द्र तर्दै चट्टान स्मारक पुग्नुभएको थियो । ध्यान मण्डपम्मा ध्यान बस्नुअघि मोदीले केहीबेर मण्डपममा जाने सिँढीमा उभिएर चारैतिर फैलिएको समुद्रको मनोरम दृश्य अवलोकन गर्नुभएको थियो ।
प्रधानमन्त्री मोदीले रामकृष्ण परमहंस, माता शारदा देवीको तस्विरमा पुष्पवृष्टि गर्नुका साथै स्वामी विवेकानन्दलाई पुष्पहार अर्पण गर्नुभयो ।
शिवगंगामा सम्वाददाताहरुसँग कुरा गर्दै तमिलनाडु बीजेपी अध्यक्ष के अन्नामलाईले मोदीको स्मारक भ्रमणलाई उहाँको निजी भ्रमण भएको बताउनुभयो । ‘यो प्रधानमन्त्रीको व्यक्तिगत भ्रमण हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रममा सहभागी छैनन् ।
थन्थाई पेरियार द्रविडर कझगमलगायतका संगठनहरूले मदुरैमा मोदीको विरोध गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए । सोसल मिडिया प्लेटफर्म युएक्सयुले पनि अन्तिम चरणको मतदान सन्दर्भमा मोदी ध्यानमा बसेको समाचार प्रसारणको राजनीतिक विरोध भएको टिप्पणी गरेको छ ।
विवेकानन्द स्मारकमा मोदीको ४५ घण्टा ध्यानका लागि कडा सुरक्षालगायत सबै व्यवस्था मिलाइएको छ । सन् १८९२ को अन्त्यतिर समुन्द्र भित्रका चट्टानहरूमा ध्यान गरेका स्वामी विवेकानन्दको सम्झनामा निर्माण गरिएको स्मारकमा प्रधानमन्त्री पहिलो पटक पुग्नुभएको हो ।
२०१९ को लोकसभा निर्वाचन प्रचारप्रसारको अन्त्यपछि प्रधानमन्त्रीले केदारनाथ गुफामा ध्यान गर्नुभएको थियो । अहिले उहाँ देशको मुख्य भूमिको दक्षिणी किनारमा अवस्थित आध्यात्मिक केन्द्रमा ध्यान बसिरहनुभएको छ ।
भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार, सुरक्षाकर्मीहरूले स्मारक परिसरलाई घेरेको बेला, सम्पूर्ण कन्याकुमारी जिल्लामा सुरक्षा बढाइएको छ । त्यहाँ लगभग २ हजार प्रहरी तैनाथ गरिएका छन् । तमिलनाडु पुलिसको तटीय सुरक्षा समूह, तटरक्षक र नौसेनाले पनि मोदीको सुरक्षामाथि कडा निगरानी गरिरहेको छ ।









प्रतिक्रिया