
हेटौंडा, १८ जेठ । नेकपा (एमाले) मकवानपुरको १२औँ जिल्ला अधिवेशन आज शुक्रबारबाट हेटौंडामा सुरु हुँदैछ ।
हेटौंडा–४ स्थित रोयल प्यालेसमा हुने अधिवेशन बिहान ११ बजेबाट सुरु हुने अधिवेशनको तयारी पूरा भएको जिल्ला सचिव नवीन सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनको उद्घाटन पार्टी महासचिव शंकर पोखरेलले गर्नुहुनेछ ।
अधिवेशनमा जिल्लाको दशवटै पालिका कमिटी तथा मनोनीतसमेत गरी ७ सय ७४ जना अधिवेशन प्रतिनिधि सहभागि हुनुहुने सचिव सिग्देलले बताउनुभयो । उहाँले उद्घाटनसत्रपछि आजै साँझबाट बन्दसत्रसमेत सुरु हुने र बन्दसत्रमा राजनीतिक तथा सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने बताउनुभयो ।
त्यसपछि अधिवेशनअन्तर्गत १९ गते शनिबार अपरान्ह १२ बजेसम्म प्रतिवेदनमाथि छलफल हुनेछ ।
नयाँ कार्यसमितिसमेत चयन हुने अधिवेशनमा शनिबार दिउँसोबाट उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुने बताइएको छ ।
अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्ने एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो । उहाँले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास हुने र सहमति हुन नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन हुने बताउनुभयो ।
जिल्ला अध्यक्षका लागि एमाले बागमती प्रदेश सदस्यसमेत रहनुभएका रघुनाथ खुलाल, बद्री लम्साल, श्रीधर पोखरेल, लालबहादुर थापा, ध्रुवप्रसाद चौलागाईलगायतका नेताहरु आकांक्षी देखिनुभएको छ ।
यसैगरी, उपाध्यक्षमा नवीन सिग्देल, हिदम लामा, सुनिल मुक्तान, पार्वती रानाको चर्चा छ भने सचिवमा विदुर हुँमागाई, मदनकुमार दाहाल, राजन थापा र सुमित्रा काफ्लेको चर्चा छ । उपसचिवमा भने सिता विष्ट, कृष्णप्रसाद चौलागाई, खेम जर्गामगर, दीपक खड्का, जुना दाहाल, आरती पाठक, रमिला सापकोटा, सन्तोष चौलागाईलगायतको चर्चा रहेको छ ।








प्रतिक्रिया