२९ जेष्ठ २०८३, शुक्रबार

मधेश प्रदेश : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १७ जेठ । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’

जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिएपनि विज्ञप्तिमा भने ३ दलको मात्रै हस्ताक्षर रहेको छ ।

नेपाली कांग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर सरकार बनाउने छलफल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबीच यस्तो सहमति भएको हो ।

मधेशमा कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेमा बहुमत पुग्ने देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद गरि ५७ मत हुन्छ, जुन बहुमतका लागि आवश्यक ५४ भन्दा बढी हो ।

प्रदेशमा एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ७ सांसद रहेका छन् ।