
रौतहट, १७ जेठ । अत्याधिक गर्मी बढ्दै गएपछि रौतहटका चारवटा पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बन्द भएका छन् ।
गर्मीका कारण विद्यालयको कक्षा कोठामा बसेर पठनपाठनमा समस्या आएको भन्दै गौर, कटहरिया, ईशनाथ र गरुडा नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी विदा दिएको छ ।
गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे विदाबाट कट्टा हुनेगरी विदा दिइएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताउनुभयो । उहाँले गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्नसक्ने भएकाले विद्यालयमा विदा दिइएको बताउनुभयो ।
कटहरिया नगरपालिकाले पनि सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको छ । ईशनाथ नगरपालिका र गरुडा नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गर्मीबाट विद्यार्थीहरुलाई जोगाउनका लागि जेठ १८ गतेसम्म विद्यालय विदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । पालिकाले विदा दिएको पत्र मातहतका विद्यालयहरुलाई पठाएका सम्बन्ध पालिकाको प्रमुख प्रशासकीय अधिकृतहरुद्धारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।
जिल्लाका अधिकांश विद्यालय जस्ताको छानो भएको र विद्युतसमेत अनियमित हुने गरेको छ, जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरको शिक्षकहरु बताउँछन् । अत्यधिक गर्मी भएपछि विद्यार्थीहरु कक्षाकोठामै बेहोस भएर ढल्न थालेको पाइएको छ ।
विद्यार्थीको चाप अत्यधिक रहेको कक्षाकोठामा अत्यधिक गर्मीले विद्यार्थीहरु बेहोस हुन थालेका हुन् । बिजुलीको लाइन पनि नियमित नआउने भएकाले एउटै कक्षाकोठामा कोचाकोच गरेर बढी विद्यार्थी बस्नुपर्दा गर्मीले विद्यार्थी बेहोस हुन थालेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रौतहटका प्रमुख रामविनय कुमार सिंहले अत्याधिक गर्मीको कारण विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु मुर्छा पर्ने तथा अन्य लक्षणहरुले ग्रसित भइरहेको हुँदा बर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयमा अध्ययन अध्यापनको व्यवस्थापन गर्न अनुरोध गरिएको बताउनुभयो । उहाँले बिहानीको समयमासमेत अधिक मात्रमा गर्मी हुने भएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरेर अध्ययन/अध्यापनको व्यवस्थापन गर्न सुझाव दिनुभएको छ ।
गर्मी बढ्दै गएपछि बजारमा चहलपहलमा कमी आएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्या न्यून रहेको छ । ज्याला मजदुरी र व्यापारी पनि गर्मीका कारण प्रभावित भएको पाइन्छ ।
रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान गरिएको छ ।
महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ । ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।








प्रतिक्रिया